दैलेखका राउटे समुदायलाई राहत वितरण


Blog Details
  • 2023-10-05

दैलेख, १८ असोज । चाडपर्व नजिकिँदै गर्दा दैलेखको भैरवी गाउँपालिकामा रहेका लोपोन्मुख राउटे समुदायलाई आवश्यक राहत वितरण गरिएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको टोलीले दैलेखको भैरवी गाउँपालिका–२ रावतकोटमा रहेका राउटे समुदायलाई सोही गाउँमा पुगेर खाद्यान्न, दाल, चामल, पाल, कपडा तथा कम्मल लगायतका राहत सामग्री वितरण गरेका हुन् ।

प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगरको विशेष उपस्थितिमा भएको राहत वितरण कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय महासचिव दिवश राई, स्थानीय निर्वाचित जनप्रतिनिधिहरू, कर्णाली प्रदेश मुख्य सचिव खगेन्द्र पुन, जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी किशोर लम्साल, भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

राहत वितरण कार्यक्रमलाई सहजीकरण गर्दै डम्मर गरङ्जा मगरले लोपोन्मुख राउटे समुदाय सङ्कटबाट गुज्रिरहेको जानकारी प्राप्त भएपश्चात् उनीहरूको दैनिक जीवनयापनमा सहज होस् भन्नका लागि राहत वितरण कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘अब चिसो समय सुरु हुन लागिसकेको छ । जङ्गलमा बसिरहेका समुदायलाई चिसोबाट बच्नका लागि न्यानो कपडा हस्तान्तरण गरेका छौँ ।’’

त्यस अवसरमा भैरवी गाउँपालिका दैलेखका उपाध्यक्ष देवी भण्डारीले गाउँपालिकामा बसोबास गरिरहेका र सङ्कटबाट गुज्रिरहेका राउटे समुदायलाई दैनिक जीवन सहजीकरणको लागि सहयोग गर्ने प्रतिष्ठान र सहभागी सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।