काठमाडौं, मंसिर १० गते । आदिबासी जनजाति समुदायको स्वतन्त्र, पूर्वसुचित सहमति (एफपिक) कार्यान्वयन राष्ट्रिय निर्देशिका २०८३ सार्वजनिक गरिएको छ । आदिबासी जनजाति आयोगको कार्यालयमा बिहीबार सो साझा निर्देशिका सार्वजनिक गरिएको हो ।
आदिबासी जनजाति आयोगको आयोजना तथा नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, नेपाल आदिबासी जनजाति महासंघ र डब्लुडब्लुएफ, नेपालको सहकार्यमा तयार गरिएको निर्देशिकाले आदिबासी जनजातिको पूर्व स्वीकृति अधिकारलाई बलियो बनाउने विश्वास सरोकारवाला संस्थाका पदाधिकारीहरुको छ ।
विश्वभरका आदिबासी जनजाति समुदायको हक अधिकार संरक्षण, सम्बर्धन तथा प्रवर्धनका लागि देशको संविधान कानुन, अन्तर्राष्ट्रिय सन्धी महासन्धी र संयुक्त राष्ट्रसंघको घोषणापत्रले सुनिश्चित गरेको अधिकारको कार्यान्वयनका लागि निर्देशिका तयार गरिएको आदिबासी अगुवाहरुको भनाइ छ ।
आइएलओ महासन्धी १६९ लाई नेपाल सरकारले अनुमोदन गरेको मुलुक भएकाले पनि आदिबासीको पूर्व स्वीकृतिको अधिकार कार्यान्वयनका लागि निर्देशिकाले सहयोग गर्ने विश्वास गरिएको छ ।
निर्देशिका तयार गर्न आयोगका अध्यक्ष थापा मगरको संयोजकत्वमा ३ सदस्यीय मैस्यौदा समिति गठन गरिएको थियो । समितिको सदस्यहरुमा डा. कुन्साङ लामा र पत्रकार खिम घले सदस्य रहनुभएको थियो । उहाँहरुले तयार गर्नुभएको निर्देशिकाको मस्यौदामाथि आदिबासी जनजातिजन्य संघ संस्थासँगको बृहत छलफल पछि निर्देशिकालाई अन्तिम रुप दिएर आज सार्वजनिक गरिएको संयोजक थापा मगरले बताउनुभयो । थप पढ्नुहोस्...