काठमाडौँ, साउन १७ गते । नेपाल आदिवासी जनजाति महासंघले छ जना पर्वतारोहीहरुको निधनप्रति शोक वक्तव्य जारी गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । पाकिस्तानस्थित काराकोरम पर्वत शृङ्खलामा आएको विनाशकारी हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाई), गेलु शेर्पा, किली पेम्बा शेर्पा, नावाङ थिन्दु शेर्पा, निमा शेर्पा, पुर बहादुर गुरुङको निधन भएको हो ।
हिमपहिरोमा साहसी पर्वत पुत्र मात्रै नगुमाएको विश्व पर्वतारोहण समुदायले पनि अद्वितीय अनुभव, साहस र समर्पणका धनी व्यक्तित्व गुमाएको महासंघले जनाएको छ । विशेष गरी शेर्पा, गुरुङ, मगर तथा अन्य हिमाली आदिवासी समुदायले पुस्तौंदेखि हिमालसँग सहअस्तित्वमा आधारित जीवन पद्धति, मौलिक ज्ञान, सीप, साहस र अथक समर्पणका माध्यमबाट विश्व पर्वतारोहणमा योगदान पुर्याउँदै आएको जनाइएको छ ।
संसारका सर्वोच्च हिमशिखरमा सफल आरोहणको गौरव स्थापित गर्न, हजारौँ पर्वतारोहीको सुरक्षा सुनिश्चित गर्न तथा नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा उचाल्न उहाँहरूको भूमिका अनुपम र अविस्मरणीय रहेको महासंघले जनाएको छ । “हिमाल उहाँहरूका लागि केवल जीविकोपार्जनको माध्यम मात्र होइन, संस्कृति, सभ्यता, आध्यात्मिक आस्था, पहिचान र पुस्तौँदेखि जीवन दर्शनसँग गाँसिएको अमूल्य सम्पदा हो,”महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“नेपालका आदिवासी समुदायको गौरवपूर्ण विरासत, विश्व पर्वतारोहण क्षेत्र र सम्पूर्ण मानव समुदायलाई नै अपूरणीय क्षति पर्याएको छ ।”