नेपाल सरकारले सूचीकृत गरेको विभिन्न आदिवासी जनजाति मध्ये किराँती समुदायको एक महत्वपूर्ण पर्व उभौली हो । यस उभौली चाड प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन किराँतीहरुले चण्डी तथा भूमेस्थानमा पूजा आराधना गरी मनाउँदैछन् । यस समयबाट गर्मी मौसम सुरु हुने भएकाले मानिसहरु बेंसीबाट लेकतिर उँभो लाग्ने भएकाले यसलाई उभौली भन्ने गरिन्छ । बैशाख लागेपछि चराचुरुड्डी लगायत जडली जनावरहरु उँभो लाग्ने किराँती समुदायमा विश्वास छ ।
मंसिर शुक्ल पूर्णिमा अर्थात् उधौलीमा जाडो छल्न बेंसी झरेकाहरु अहिले उँभो लाग्ने गर्दछन् । बर्खायाममा बाढी पहिरो नआओस्, भू-क्षय नहोस् भनेर भूमे पूजा गर्ने, हावाहुरीले नास नगरोस्, विपत्ति नआओस् भनेर पितापुर्खालाई सम्झदै वायु पूजा गर्ने, खेतीबाली राम्रो होस् उन्नति होस् भनेर चण्डी पूजा गर्ने परम्परा यस किराँत समुदायमा छ । यस उभौली पर्वलाई किराँतीहरुले भूम्या / चण्डीपूर्णिमा / श्याँदर पिदर / साकेला / यक्वा तङ्नाम / चासुवा पनि भन्ने गर्दछन् । त्यसैगरी विश्वशान्तिका प्रतिक शान्तिका अग्रदुत भगवान् बुद्धको २५६९ औं जन्म जयन्ती आजैका दिन भएकाले यी दुवै महान पर्वलाई नेपालीहरुले भव्यताका साथ मनाइरहेका छन् ।
विविधतायुक्त रंगिन समुदायले सजिएको मुलुकभित्र रहेका सबै जाति भाषा, धर्म, संस्कृति, रीतिरिवाज, चाडपर्व, भेषभूषाले राष्ट्रलाई भरिपूर्ण बनाएको छ । यस्तै विविधतापूर्ण समाज नै नेपालको अमूल्य सम्पत्ति हो । यस सम्पदालाई संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गरी प्रचार गरेमा नेपालको भविष्य उज्ज्वल हुन्छ । यसर्थ यस महत्वपूर्ण पर्वले नेपालको विविधतायुक्त समाजलाई सम्मान गर्दै राजनैतिक स्थायित्व रही नेपाल र नेपाली जनताको हितमा कार्य गर्न सबैलाई हौसला मिलोस् भन्दै शुभकामना व्यक्त गर्दछौं ।
नेपालका आदिवासी जनजातिहरुको विविधतायुक्त संस्कृती नै नेपालको विशिष्ट मौलिक पहिचान हो । हाम्रो भाषा, धर्म, संस्कृती, परम्परागत ज्ञान सिप र जीवनप्रणाली नै आदिवासी जनजातिको जीवन्त पहिचान हो । प्रत्येक वर्ष मनाइने यस प्रकारका चाडपर्वहरुले हाम्रो संस्कृतिको निरन्तरता त दिन्छ नै साथै हामी आदिवासी जनजाति समुदायहरु बिच हार्दिकता, भावनात्मक एकता र आत्मियता पनि सुदृढ गर्दछ भन्ने विश्वास व्यक्त गर्दै पुनः उभौली तथा २५६९ औं बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।