२०६२र६३ को ऐतिहासिक जनआन्दोलन, माओवादी जनयुद्ध, मधेश विद्रोह, आदिवासी जनजाति आन्दोलन, महिला, दलित, खसआर्य तथा मुस्लिम समुदायले सञ्चालन गरेको थुप्रै बलिदानीपूर्ण सङ्घर्षहरुबाट निर्मित नेपालको संविधान २०७२ ले व्यवस्था गरेको धर्मनिरपेक्षता, गणतन्त्र, सङ्घीयता र समावेशी लोकतान्त्रिक व्यवस्थाविरुद्ध पछिल्लोपटक पूर्बराजा सहित देशी, विदेशी प्रतिक्रियावादी शक्तिसँगको मिलोमतोमा विभिन्न व्यक्ति र समूहको नामबाट सञ्चालित संविधान विरोधी प्रतिगामी कदमप्रति नेपाल आदिवासी जनजाति महासंघ लगायत सम्पूर्ण आदिवासी जनजाति संघ, संगठनहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।
सामन्ती, निरंकुश, केन्द्रीकृत, एकात्मक राज्य व्यवस्थाबाट विभेद, शोषण, दमन र असमानता भोग्न विवस यस देशका एक करोड बढी आदिवासी जनजातिहरुको पहिचानको मुद्दा लगायत तमाम उत्पीडित, उपेक्षित जाति, वर्ग, क्षेत्र र लिङ्गको समस्यालाई उचित सम्बोधन हुन नसकिरहेको वर्तमान परिस्थितिमा प्राप्त उपलब्धिलाई अझ संस्थागत गर्दै मुलुकलाई उन्नत र इन्द्रेणी समाज निर्माणतर्फ अघि बढाउनु पर्नेमा सामन्तवादी व्यवस्थाको प्रतीक राजा र वर्ण व्यवस्थालाई प्रवर्द्धन गर्ने हिन्दू राज्य स्थापना गर्ने नाममा देशको विभिन्न स्थानमा भइरहेको अराजक हर्कत र गतिविधिले सामाजिक सद्भाव भड्कन गई कुनैपनि बेला मुलुक जातीय धार्मीक द्वन्द्वतर्फ जानसक्ने खतरा उन्मुख भएको हाम्रो ठहर छ ।
मुलुकमा भ्रष्टाचार, बेथिति अवश्य बढेको छ जसलाई नियन्त्रण गर्न जरुरी छ । तर यसैको आडमा देशी, विदेशी प्रतिक्रियावादी तथा केही धार्मिक अतिवादी समूहहरूद्वारा जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धिलाई खारेज गर्नेगरी देशव्यापी रुपमा सञ्चालित प्रतिगामी हर्कत तथा उत्तेजक अभिव्यक्ति दिने कार्य सह्य हुन सक्दैन । यस्ता गतिविधि नेपालको प्रचलित कानुन र संविधान विपरीत समेत भएकाले त्यसखालको कार्यहरु तत्काल बन्द गर्न, गराउन हामी सम्बन्धित पक्ष र नेपाल सरकारको गम्भीर ध्यानाकृष्ट गराउन चाहन्छौ ।
यसैक्रममा चैत्र १५ गते राजावादीको नाममा तीनकुने, कोटेश्वर क्षेत्रमा भएको अराजक हिंसात्मक गतिविधि, आगजनी, तोडफोड र लुटपाटको कडा निन्दा र भर्त्सना गर्दछौ । उक्त घटनाको सम्पूर्ण दोषीहरुलाई कडाभन्दा कडा कार्वाही गर्न सरकारसंग जोडदार माग गर्दछौ । सथै तिनकुने घटनामा परि ज्यान गूमाउने पत्रकार सूरेश रजक र सविन महर्जनप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दछौ ।
गेल्जे शेर्पा
अध्यक्ष
नेपाल आदिवासी जनजाति महासंघ