काठमाडौँ, २० माघ। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)को नेतृत्वले मुकुम्लुङ घटनाका घाइतेहरूसँग भेटघाट गरेको छ ।
नेफिनको नेतृत्वले ताप्लेजुङको पवित्र धार्मिक स्थल मुकुम्लुङ क्षेत्रमा व्यवसायी चन्द्र ढकालले जबरजस्ती केबलकार बनाउन खोज्दा मुकुम्लुङको संरक्षणमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका स्थानीय जनतालाई विभत्सपूर्ण ढङ्गले गोली, लाठी, बुट र बन्दुक प्रहार गरी घाइते बनाएको थियो । प्रहरी र गृह प्रशासनको उक्त क्रूर, विभेदपूर्ण, अलोकतान्त्रिक र अमानवीय कदमबाट सृजित मुकुम्लुङ घटनाको कडा शब्दमा निन्दा, भर्त्सना र खेद प्रकट गर्दै नेफिनले उक्त घटनाका घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
मुकुम्लुङ क्षेत्र धार्मिक रूपमा र प्राकृतिक स्रोत तथा जैविक विविधता को दृष्टिकोणले अति संवेदनशील क्षेत्र भएकोले त्यस क्षेत्रमा बसोबास गर्ने स्थानीय आदिवासी जनजाति समुदाय, विभिन्न धार्मिक समुदाय र जैविक विविधता संरक्षण विज्ञहरूको सहमति एवं मन्जुरी बिना एकतर्फी पहुँच, पैसा र शक्तिको आडमा जबरजस्ती बनाउन खोजिएको केबलकार तत्काल खारेज गरी वार्ता, संवाद र सहमतिबाट त्यहाँ उत्पन्न समस्याको समाधान गर्न सरकार समक्ष जोडदार माग समेत गरेको छ ।
साथै त्यहाँ प्रहरी दमनबाट घाइते भएका आन्दोलनकर्मीहरूको सघन उपचार र भविष्यमा उनीहरूको जीवननिर्बाहको लागि उचित क्षतिपूर्तिको व्यवस्था गर्न समेत सरकार सङ्ग जोडदार माग समेत गरेको छ । टिचिङ हस्पिटलमा उपचाररत घाइतेहरू छातीमा वारपार गोली लागेका सगुन लावती, तिघ्रामा वारपार गोली लागेका यामबहादुर लिम्बू र बन्दुकको कुन्दाले हानेर कुमको हड्डी भाँचिएका धर्मन पालुङ्वालाई नेपाल आदिवासी जनजाति महासंघबाट अध्यक्ष गेल्जे लामा शेर्पा, महासचिव दिवस राई र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङद्वारा भेट गरी उनीहरूको स्वास्थ्य उपचारको अवस्था र घटनाको अवस्थाको बारेमा जानकारी लिनुभएको हो ।