काठमाडौं, माघ १५ गते । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले निजामती सेवा विधेयकको मस्यौदामा समावेशी प्रावधान अन्तर्गत रहेका असमानता र विभेदकारी ब्यवस्थाहरूलाई तत्काल हटाउन माग गर्दै प्रतिनिधिसभाको राज्य ब्यवस्था तथा सुशासन समितिका सभापति माननीय रामहरी खतिवडालाई ज्ञापनपत्र बुझाएको छ ।
यस विषयमा नेफिनले संसदीय समितिमा उपस्थित भएर माननीय साम्सदहरूसंग आमने सामने (Face to Face ) भएर सवालजवाफ गर्न पाउनुपर्ने र समावेशी सिद्धान्तको आधारमा प्राप्त संवैधानिक अधिकारको बारेमा समितिमा प्रस्ट्याउन पाउनुपर्यो भनेर सभापतिलाई ध्यानाकर्षण गराएको हो ।
निजामती विधेयकलाई अहिले अन्तिम टुङ्गो लगाउन प्रतिनिधिसभाको राज्य ब्यवस्था तथा सुशासन समितिमा दफावार छलफलको क्रममा रहेको छ । उक्त विधेयकमा समावेशी ब्यवस्था अन्तर्गत देखिएका त्रुटिहरूलाई तत्काल सच्याउन समितिका सम्पुर्ण माननीयज्युहरु लाई अपिल गरेको छ ।