काठमाडौँ, २ माघ । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासी जनजातिले आफ्नो पहिचान जोगाउन मात्रृभाषामा विशेष जोड दिनुपर्ने बताउनु भयो। नेपाल मगर संघले मगर समुदायको प्रमुख सांस्कृतिक पर्व माघे सकरातीको अवसरमा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै अध्यक्ष शेर्पाले त्यस्तो बताउनु भएको हो।
पछिल्लो समय आदिवासी जनजातिको मात्रृभाषा लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष शेर्पाले भने, ‘हाम्रो मूल कुरा भनेकै मात्रृभाषा हो । मात्रृभाषा रह्यो भने हामी रहन्छौँ । मात्रृभाषा नै रहेन भने हामी कसरी रहन्छौ रु आज यहाँ कार्यक्रम सञ्चालकले मात्रृभाषामा कार्यक्रम सञ्चालन गरेको भए कति उत्प्रेरणा मिल्थ्यो । त्यसैले हामीले भाषाको संरक्षणमा विशेष जोड दिन आवश्यक छ । हाम्रो मुटु भनेकै मात्रृभाषा हो ।’
संस्कार, संस्कृति, भेषभूषा सँगै मात्रृभाषाको संरक्षणमा विशेष जोड दिन आवश्यक रहेको अध्यक्ष शेर्पाको भनाई थियो ।
नेपालका हरेक परिवर्तनमा आदिवासी जनजातिको योगदान महत्त्वपूर्ण भएपनि त्यसको प्रतिफल भने अन्य समुदायले उपभोग गर्दै आएको बताउनु भयो।
अनेक बहानामा उल्टै आदिवासी जनजातिका प्राकृतिक अधिकारहरू खोस्ने कार्य भइरहेको भन्दै उनले यसमा सचेत हुन आवश्यक रहेको बताउनु भयो। ‘आदिवासी जनजाति समुदाय प्रत्यक्ष रूपमा प्रकृतिसँग सरोकार राख्छ । प्राकृतिक स्रोतसाधन बिना आदिवासी जनजातिको जीविकोपार्जन समेत हुँदैन’, अध्यक्ष शेर्पाले भने, ‘तर अहिले विभिन्न बहानामा अधिकार खोस्ने प्रयत्न भइरहेको छ । यसमा हामी समयमै सचेत हुन आवश्यक छ ।’
पछिल्लो समय संविधान संशोधनको चर्चा भइरहेको भन्दै उनले संविधान संशोधन गर्दा आदिवासी जनजातिले पाएको अधिकार पनि खोस्ने षड्यन्त्र हुनसक्ने बताउनु भयो। संविधान संशोधन हुँदा प्राप्त अधिकारको संरक्षण गर्दै थप अधिकार प्राप्तिका लागि पहलकदमी हुनुपर्ने उहाको भनाई थियो ।