संघीयता र गणतन्त्रमाथि धावा बोल्ने शक्तिहरूलाई छाड्दैनौ:अध्यक्ष शेर्पा


Blog Details
  • 2023-12-31

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) संघीय परिषद सचिवालयका अध्यक्ष गेल्जे लामा शेर्पाले केही उच्छृङ्खल व्यक्तिहरूले संघीयता र गणतन्त्रमाथि धावा बोल्ने व्यक्तिहरूलाई नछाड्ने बताउनुभएको छ । तमू (गुरुङ) समुदायको प्रमुख चाड तमू ल्होछारको सन्दर्भमा काठमाडौंमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै अध्यक्ष शेर्पाले त्यस्तो बताउनुभएको हो ।
उहाँले त्यस्ता शक्तिहरू विरुद्ध सबै मिलेर लड्नुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, पछिल्लो समय केही उच्छृङ्खल व्यक्तिहरूले नेपाली जनताको लामो संघर्षपछि प्राप्त गरेको संघीयता, गणतन्त्रमाथि धावा बोलिरहेका छन् । ती व्यक्तिहरूलाई भन्न चाहन्छु, हाम्रो हातमा पनि दही जमेको छैन । त्यस्ता गतिविधि गर्नेहरूका विरुद्ध सबै लाग्नुपर्छ ।

अध्यक्ष शेर्पाले सबै जाति, समुदायले समानरुपमा आफ्ना धर्म, संस्कृति, परम्परा मनाउन पाउनुपर्छ, समानरुपमा मनाउन पाउनुपर्ने भन्दै आदिवासी जनजातिहरूले ती उपलब्धिको रक्षा गर्न एक जुट भएर बस्ने समेत बताउनुभयो ।

सबैका हितका निम्ति काम गर्न प्रधानमन्त्रीलाई आग्रह गर्दै अध्यक्ष शेर्पाले आज मुलुकको नीतिका कारण मुलुक थप्प भएको समेत बताउनुभयो । ुआज राष्ट्रको गरिमा बोकेको राष्ट्र बैंक जस्तो संस्था जनतालाई महँगो ब्याज लगाएर सरकारलाई कर तिरेर बसेको छ । विभिन्न बैंकहरू स्थानीय तहको विकासहरू नगरेर बैंकमा पैसा राखेर बसेको छ । बैंकहरू हिजो ७ प्रतिशतमा ऋण दिएको बैंकहरूले आज १४ प्रतिशत, १६ प्रतिशतसम्म ब्याज असुली गरिरहेको छ ।जसले गर्दा उद्योग, धन्दा नचल्दा देश थप्प हुन पुगेको छु, अध्यक्ष शेर्पाले भन्नुभयो, सरकारले कडा नीति ल्याएर बैंकहरूको ऋण लगानी र ब्याजमा एकरूपता ल्याउनुपर्छ ।

मुलुकको आर्थिक नीतिले गर्दा थुप्रै नागरिक विदेशिनुपरेको भन्दै अध्यक्ष शेर्पाले युद्धरत देशमा समेत गएर आज युवाहरू मृत्यु भइरहेको बताउनुभयो । आज देश थप्प अवस्थामा रहेको भन्दै उहाँले मुलुकको विकासका लागि अहिलेको अवस्था हटाउन पहल गर्न समेत प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एक वर्षे कार्यकालको समीक्षाबाट पनि आस गर्न सकिने त्यति काम नभएको भन्दै उहाँले आफ्नो कार्यकालमा केही राम्रा काम गरेर जनतालाई राहत दिन समेत उहाँले आग्रह गर्नुभयो । प्रधानमन्त्री ज्यूले गर्नुभएको एक वर्षे कार्यकालको समीक्षा र राष्ट्रका नाममा गरिएका सम्बोधनहरू सुने । त्यसमा केही आशा लाग्दा कुराहरू पनि छन् र केही निराश लाग्दा कुराहरू पनि रहेका छन् । अहिलेकै अवस्था रहे मुलुक झन् अप्ठ्यारो अवस्थामा हुन सक्छ । त्यसैले समयमै अहिलेको अवस्थाबाट निकास दिन म आग्रह गर्दछु, अध्यक्ष शेर्पाले अनुरोध गर्नुभयो ।